डलर ११२ रुपैयाँ पुग्न सक्ने

नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलरको भाउ अकासिने क्रमसँगै मूल्यवृद्धि चुलिने भएको छ । भारतीय बजारको असरका कारण शुक्रबार एक डलर खरिद गर्न औसत १ सय ३ रुपैयाँ ५० पैसा खर्च गर्नुपर्ने भएको छ । सार्वजनिक बिदाका कारण बिहीबार बैंक नखुलेपछि डलरले वास्तविक वृद्धि पाएन । तर भारतीय बजारमा प्रभाव हेरेर शुक्रबारका लागि हालसम्मकै महँगो दर तोकिएको हो । बजार खुला रहेको भारतमा भने बिहीबार डलरको मूल्य ६५ रुपैयाँ -भारु) सम्म पुगेको थियो ।


दुई मुलुकबीचको स्थिर विनिमय दरका कारण नेपालमा डलर महँगो हुँदै गएको हो । यसलाई नेपालबाट नियन्त्रण गर्न सम्भव छैन । अमेरिकी र युरोपको अर्थतन्त्रमा आएका सुधारसहित भारतमा बढेको मागका कारण डलर महँगो हुँदै गएको छ ।
यही गतिले डलरको मूल्य बढ्दै जाने हो भने भारतमा एक डलर खरिद गर्न ७० भारतीय रुपैयाँसम्म खर्च गर्नुपर्ने विश्लेषण सार्वजनिक भएका छन् । त्यसो भयो भने नेपालमा एक डलर खरिद गर्न १ सय १२ रुपैयाँ बुझाउनु पर्नेछ ।
डलरबाट सबैभन्दा पहिलो असर मूल्यवृद्धि हुनेछ । तेस्रो मुलुकबाट आयात हुने वस्तुको स्वाभाविक मूल्यवृद्धिसँगै सबै वस्तु महँगिने
छन् । पछि तिर्ने गरी एलसी खोलेर सामान भित्र्याउँदा घाटा लागेका आयातकर्ताले पनि मूल्य बढाएर सामान बेच्ने सम्भावना छ । बढ्दै गएको मूल्यवृद्धिले आर्थिक मात्र नभएर सामाजिक र राजनीतिक क्षेत्रमा पनि असर गर्न सक्ने अर्थविद् केशव आचार्य बताउँछन् ।
'मूल्यवृद्धिलाई आर्थिक पक्षसँग मात्र नभएर सामाजिक र राजनीतिक टाइम बम भनेर पनि हेरिन्छ,' आचार्यले भने, 'यही दरमा बढ्दै जाने हो भने असर धेरै देखिनेछ ।' मूल्यवृद्धिको मार गरिबलाई धेरै परे पनि असर भने मध्यमवर्गमा देखिने उनले बताए ।
पछिल्लो समय डलरले बढाउने मूल्यवृद्धिलाई नजिकिँदो चाडबाडले थप ऊर्जा दिने देखिएको छ । 'चाडबाड नजिकिँदै जाँदा रेमिटेन्स भित्रिने क्रम पनि बढ्छ,' कमर्ज एन्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले भने, 'जसले उपभोग बढाएर मूल्यवृद्धि हुन थप सहयोग पुग्छ ।'
डलरको मूल्य बढेर सामान महँगो हुनेबाहेक नाफाखोरले पनि बजारमा अराजकता बढाउन सक्ने सम्भावना देखिएको छ । चालू वर्षमा सरकारले मूल्यवृद्धिलाई ८ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ । जुन बढ्दै गएको डलरसँगै असम्भव हुँदै गएको छ । 'मूल्यवृद्धि दोहोरो अंकमा जाने सम्भावना छ,' भट्टराई भन्छन्, 'यो सरकारको नीतिमा पनि भर पर्छ ।
सामान्यतया स्वदेशी मुद्रा अवमूल्यन हुँदा निर्यात प्रोत्साहन हुने र विदेशी मुद्रा सञ्चिति बढ्ने गर्छ । यसले रोजगारी बढ्ने र अर्थतन्त्रमा सुधार आउने गर्छ ।
तर नेपालबाट निर्यात हुने अधिकांश वस्तुको आकार तुरुन्तै बढाउन नसकिने भएकाले फाइदा लिइहाल्न सजिलो छैन । यसबाहेक मजदुर, ऊर्जा, लगानीका समस्याले पनि निर्यातबाट तत्काल लाभ लिन नसकिने देखिन्छ । त्यसैले डलर बढ्दा हुने निर्यात प्रोत्साहनबाट ठूलो फाइदा लिन सक्ने अवस्था छैन ।
आयात कम हुने
डलरको मूल्यले सामान महँगो बनाएर आयात घट्ने सम्भावना रहन्छ । खासगरी, विलासिताका वस्तुको आयात घट्ने गर्छ । चारपाङ्ग्रे सवारी, साजसज्जाका सामानलगायतमा महँगीको छिटो असर पर्छ । मूल्य कम वा आय वृद्धि नभएसम्म अत्यावश्यकबाहेकका वस्तुको आयात कम हुन सक्छ ।
'मध्यमवर्गले उपभोग गर्ने विलासिताका सामानमा मात्र असर पर्ने हो,' आचार्यले भने, 'उच्च वर्गलाई धेरै असर पर्दैन ।' साथै, विदेशबाट कच्चा पदार्थ आयात गर्ने उद्योगलाई पनि समस्या पर्छ । कच्चा पदार्थ महँगो भएको समयमा जोखिम बढ्ने भएकाले उद्योगले पनि आयात घटाउँछन् । आयात घटेपछि उत्पादनमा असर पर्छ । यी दुवै कारणले बेरोजगारी बढाउन सक्ने देखिन्छ ।
तलब बढाउन दबाब
मुद्रा कमजोर बन्दै जाँदा बढ्ने महँगीका कारण ज्याला बढाउन दबाब पर्छ । यस्तो दबाब सरकारी र निजी दुवै क्षेत्रमा देखिन्छ । बेरोजगार कम भएको मुलुकमा यस्तो अवस्था आउँदा तलब छिटो बढ्छ । तर बढी बेरोजगारी हुँदा दबाब देखिए पनि ज्याला वृद्धि हुने सम्भावना कम हुन्छ । सरकारले चालू वर्षको बजेटबाट कर्मचारीको तलब बढाइसकेकाले निजी क्षेत्रलाई भने डलरबाट दबाब पर्ने देखिएको छ । 'महँगीसँगै तलब ज्याला बढाउन आवाज उठ्न थालिसकेका छन्,' आचार्यले भने, 'यस्तो देखिनु स्वाभाविक हो ।'
आर्थिक वृद्धिमा असर
सामान्य अवस्थामा मुद्रा कमजोर हुँदा निर्यात प्रोत्साहन भएर आर्थिक वृद्धिदरलाई सहयोग गर्ने गर्छ । तर बढी आयात गर्ने मुलुकलाई भने यसले फाइदा पुर्‍याउँदैन । नेपालको व्यापारलाई १ सय रुपैयाँको अनुमान गर्दा ८८ रुपैयाँ आयातमा खर्च र १२ रुपैयाँ निर्यातबाट आर्जन भइरहेको छ । त्यसैले सानो निर्यातबाट हुने फाइदाले ठूलो आयातबाट हुने प्रभावलाई कम गर्न सक्दैन । यसको विपरीत स्वदेशी उद्योगको उत्पादन कम भएर आर्थिक वृद्धिदरमा नकारात्मक असर पर्न सक्छ


No comments: